काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय दलको बैठकमा कतिपय सांसद एक/दुई पटक अनुपस्थित हुँदैमा कारबाहीको विषय नबन्ने बताएका छन्।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता रहेका भट्टराईले बिहीबार बालुवाटारमा बसेकाे दलको बैठकपछि नेपाल लाइभसँग प्रक्रिया दिँदै दलले ह्वीप लगाएको अवस्थामा बाहेक अन्य अवस्थामा कारबाही नहुने बताएका हुन्।
‘कुनैपनि बैठकमा अनुपस्थितकै कारण कसैलाई कारबाही हुँदैन। दलको बैठकमा सांसद अनुपस्थित हुनु भनेको सामान्य कुरा हो। विभिन्न कारणले मान्छे बैठकमा अनुपस्थित हुन सक्छन्’ भट्टराईले भने, ‘गम्भीर प्रकृतिका विषयमा पार्टीले ह्वीप लगाउँछ। त्यो अन्तराष्ट्रिय प्रचलन हो। यस्ता प्रकृतिका मुद्दामा उलंघन गरेको अवस्थामा बाहेक अन्य अवस्थामा सांसदहरुलाई कारबाही हुँदैन।’
एमाले वरिष्ठ नेता माधकुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला जारी राखेकै बखत ओलीले दलको बैठक बोलाएका थिए। राष्ट्रिय भेला छ भन्ने थाहा पाउँदा पाउँदै प्रधानमन्त्री ओलीले दलको बैठक राखेको भन्दै नेपाल-खनाल पक्षले उपस्थित हुन नसक्ने बताएका थिए। बिहीबारको दलको बैठकमा नेपाल-खनालका पक्षका सांसद उपस्थित भएका थिएनन्। केही सांसद् 'झुक्केर' पुगेको बताइएको छ।
एमालेले संसदीय बोर्ड गठन गरेपनि खासखास बेला मात्रै सक्रिय हुने भएकाले कार्यकारी निकाय नभएको भट्टराईले बताए। ‘संसदीय दलको बोर्ड भनेको खासखास बेलामा मात्रै सक्रिय हुन्छ। सँधैभरी बैठक पनि बस्दैन। कार्यकारी कमिटी पनि होइन। दैनिकजसो लाग्नुपर्ने, खट्नुपर्ने निकाय होइन’ उनले भने, ‘त्यो बैठकमा एक/दुई पटक उपस्थित नहुँदा पनि कारबाहीको विषय बन्दैन।’
ओली पक्षले एमालेको २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो। संसदीय बोर्डमा चार जना पदेन सदस्यहरु हुने व्यवस्था छ। प्रधानमन्त्री ओली, दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई सचेतक शान्ता चौधरी पदेन सदस्य हुने भएका छन्। पदेन बाहेकलाई आजको बैठकबाट निर्वाचित गरिएको छ।
निर्वाचित हुनेहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनी राना, मोहन बानिया, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक छन्। संसदीय दलको अर्को बैठक ७ गते बिहान साढे १० बजे बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।