काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरीत भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटविशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरीत बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।
पार्टी अध्यक्षको निर्देशन विपरीत भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ प्रतिक्रिया लिँदा महासचिव पोखरेलले निर्देशन विपरीतका काम हुनु राम्रो नभएको उल्लेख गरे।
'अहिले जुन किसिमको भेला भयो। पार्टीको निर्देशनविपरीत भेला भएको छ। आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ,' पोखरेलले भने।
पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताएका उनले पार्टी अध्यक्षले धुम्बाराहीमा नेताहरूलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुरालाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुका साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।