हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको बताएका छन्।
राप्रपा हेटौँडा नगर समितिका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको अजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने बताए।
'गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी हो। विदेशीको स्वार्थपुर्ति गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो', थापाले भने।
नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता रहेको थापाको भनाइ छ। 'अब निषेधको राजनीति अन्त्य गरौं, सबै अट्न सक्ने राजनैतिक प्रणालीको विकास गरौं, जसले मुलकलाई सबल,समृद्ध र स्वाधिन बनाउन सकोस्', उनले भने।
भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको चक्र तोड्नका लागि राप्रपा बलियो हुनु पर्ने भन्दै थापाले कांग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको दाबी गरे।
मनपरितन्त्र र ब्रम्हलुटको हिसाब जनताले राखिराखेको भन्दै थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो शक्तिका रुपमा स्थापित हुने दाबी गरे। राप्रपाको ध्यान महाधिवेशन केन्द्रित रहेको भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतापूर्वक अघि बढाउन कार्यकर्तालाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।