काठमाडौं- जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन्।
सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दालाई संबैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन्।
राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताए।
जसपा नेता कर्णले सबै दलहरुसँग छलफल चलिरहेकाले कार्यकारीणी समितिमा छलफल गरेपछि मात्र पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए।
जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने बताए। सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न–भिन्न भएको भन्दै उनले अरु दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गरे।
‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन। यो मेरो व्यक्तिगत धारणा हो। यो सरकार अरुको हत्केलामा हुन्छ। अरुको हत्केलामा भएको सरकार जुन बेला पनि पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ’, उनले भने, ‘त्यसकारणले सरकारमा जानु अलग हो। सरकारलाई समर्थन गर्नु अलग हो। सरकारै चलाउने विषय झन अलग हो।’
प्रतिनिधि सभा पुनःस्थापना लगत्तै सर्वोच्च अदालतको अर्को फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र साविकमै फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तीब्र बनेको छ। र, सत्ता समीकरणमा जसपा नै निर्णायक देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।