फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई इमान्दार कार्यकर्ता नचाहिएको तर भजन मण्डलीको चाहना भएको बताएका छन्। बुधबार नेकपा (एमाले)को माधव नेपाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अहिलेका सबै समस्याको जरो केपी ओली नै भएको आरोपसमेत लगाएका हुन्।
‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहाना हो। इमान्दार कार्यकता उहाँ (ओली)लाई चाहिएको छैन,' नेता नेपालले थपे, 'उहाँलाई आलोचना मन पर्दैन। सुझाव मन पर्दैन। त्यस हुनाले यी सबै चिजले समस्या खडा गर्यो।'
भेलामा सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतालाई ओलीले स्वार्थसिद्धिको साधन बनाएको समेत आरोप लगाए। 'हामीले भनेको कुरा के हो भने, पार्टी एकतालाई तपाईं (ओली)ले स्वार्थसिद्धिको साधन बनाउनुभयो, त्यो काम नगर्नुस्। पार्टी र कार्यदिशाको उल्लंघन गर्ने काम गर्नुभयो, त्यो पनि काम नगर्नुस्। जबजले तपाईंले थाती राख्नुभयो। जबज सिध्याउने काम तपाईंले गर्नुभयो। तपाइले समाजवाद उन्मुख जनताको जनवाद मान्नुभयो। तर जनताको बहुदलीय जनवादबारेमा कहीँ अडान लिनुभएन। खुसुक्क हटाउनुभयो। अनि हामीलाई थोपर्ने काम गर्नुभयो,' नेता नेपालले असन्तुष्टि पोखे, 'आज तपाईं जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ । मदन भण्डारीको विरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा गर्न खोज्नुभाछ। यस्ता भ्रममा कोही नपर्नु होला।’
पार्टीलाई ध्वंस गर्नका लागि नभई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेला गरिएको उनको भनाइ छ। कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पुर्याउन रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गरे।
‘हामीले जुन बाटो समातेका छौँ। जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ। त्यो ध्वंस गर्नका लागि होइन। निर्माण गर्नका लागि हो। पार्टीलाई एकताबद्ध बनाउनका लागि हो। कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि हो। कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि हो। त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो,’ भेलालाई सम्बोधनका क्रममा नेता नेपालले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।