फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेको माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टी एकता बचाउने कार्ययोजना बनाउने प्रतिबद्धता गरेको छ। उक्त पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा पार्टी एकता बचाउने र कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने कार्ययोजना बनाएर कार्यान्वयन गर्ने संकल्पका साथ फर्कने कार्यपत्र प्रस्तुत गरेको हो।
'सर्वोपरि रूपमा हामीले पार्टीको एकता बचाउने र कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने कार्ययोजना बनाएर तिनको कार्यान्वयन गर्ने संकल्पका साथ फर्किने छौँ,' कार्यपत्रमा भनिएको छ।
यस्तै पार्टीमा हालका समस्याबारे पनि छलफल हुने उल्लेख गरिएको छ। 'भेलामा हामीले पार्टीमा आजका समस्या कसरी आए र विकसित भए भन्ने कुरामा छलपल गर्नेछौँ। हाम्रा तात्कालिक चुनौतीहरूको लेखाजोखा गर्दै अहिले नै गर्नुपर्ने कामहरूका विषयमा निष्कर्ष निकाल्ने छौँ,' कार्यपत्रमा भनिएको छ।
पार्टी अध्यक्ष केपी ओलीका निजी महत्वाकांक्षाका कारणले पार्टीले हासिल गरेका उपलब्धिहरु गएका केही महिनामा एकपछि अर्को गरी गुम्दै गएको अवधारणा पत्रमा उल्लेख छ। भनिएको छ- पार्टी एकता असफल भएको छ, गठबन्धनको सम्भावनासमेत कमजोर हुँदै गएको छ, संसद्मा एउटा कम्युनिस्ट पार्टीको बहुमत गुमेको छ र संविधानलाई ठूलो चोट लागेको छ। र, बाँकी बँचेको नेकपा (एमाले)को एकतामाथि समेत खतरा आइपरेको छ।
अवधारणा पत्रमा एमालेलाई एकताबद्ध बनाउनुपर्ने र त्यसका लागि २०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनुपर्ने बताइएको छ।
त्यस्तै, २०७७ फागुन २८ गतेको गुट भेलाका निर्णयहरुले पार्टी एकताको आधार कमजोर बनाएको उल्लेख छ। 'अध्यक्षको गुटले पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयासहरुलाई असफल पार्न हामीले सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्नुपर्छ', भनिएको छ।
त्यस्तै, २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनर्स्थापना पर्नुपर्ने बताइएको छ।
(प्रारम्भिक दस्तावेजका आधारमा यसअघि प्रकाशित समाचारलाई अद्यावधिक गरिएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।