मुम्बई– पाल्पामा लोकसंगीतको संस्कृति नौलो होइन्। पुरानै हो। त्यहाँ युवायुवती लोकभाकामा नाच्ने मात्र होइन, गाउने पनि गर्छन्। पाल्पाली लोकगीतमा पारंगत एक युवतीले करिब दुई दशकअघि एउटा सपना देखिन्। उनको त्यो सपना आम नेपाली कलाकारको भन्दा नौलो र अनौठो थिएन। तर, सबैलाई मौका पनि जुर्दैन। कतिको क्षमता पनि हुँदैन।
तारा शर्मा, पाल्पाकी लोक गायिका। जसले १८ वर्षअघि बलिउडमा फिल्म खेल्ने सपना देखिन् र हान्निदै मुम्बई आइन्। अहिले उनले पत्याउँनै नसकिने सफलता भारतीय टेलिभिजन उद्योगमा प्राप्त गरेकी छिन्। अहिले उनको मुम्बईस्थित भगतसिंह नगरमा आफ्नै निजी फ्ल्याट छ। उनले गाउँबाट बुवाआमालाई बोलाएर आफूसँगै राखेकी छिन्।
पाल्पाको राइडाँडामा जन्मिएकी ताराले हिन्दी टेलिभिजन उद्योगमा सफल कलाकारको रुपमा आफ्नो छवी बनाइसकेकी छिन्।
उनले बलिउडका ‘बिग’ बच्चन र उनको धर्मपत्नी जया बच्चनलाई ‘मेरे शाही राम’ फिल्ममा सहायक निर्देशकको रुपमा निर्देशन गर्ने अवसर पाइसकेकी छिन्।
कुनैबेला अमिताभको फिल्मको प्रभावले कलाकार बन्ने सपना देखेकी तारा उनैलाई निर्देशन गर्न पाउँदा दंग पनि छिन्। उनी यसलाई आफ्नो करिअरको अविस्मरणीय क्षण भन्न रुचाउँछिन्। र, भन्छिन्, ‘यो मेरो मस्तिष्कमा रहनेछ, सधैका लागि।’
‘मेरे शाही राम’ को सुटिङ हुँदा सुरुमा उनी अमिताभको अगाडि जान पनि डराउँथिन्। तर, स्क्रिप्ट सुनाउँने क्रममा अमिताभसँग उनले तारम्तार भेट्नु पर्ने हुन्थ्यो। यसै क्रममा अमिताभले आफूलाई आफ्नो घरको विषयमा सोधेको स्मरण गर्दै उनी भन्छिन्, ‘मैले नेपालबाट आएको भनेपछि उहाँले मलाई छोरी भनेर सम्बोधन गर्नुभयो। र, मेरो करिअर धेरै अगाडि बढ्ने आत्मविश्वास दिनुभयो।’
पछि अमिताभले नै आफूलाई नेपालको छोरी भनेर जया बच्चनसँग चिनापर्ची गराएको उनी बताउँछिन्। ‘त्यो दिनदेखि मलाई बलिउडमा कोहीसँग काम गर्न डर, भय, संकोत भएन,’ उनले भनिन्।
यो एउटै फिल्मले बच्चन परिवारसँग ताराको सम्बन्ध यति प्रगाढ भयो, अहिले पनि बेलाबेलामा उनी बच्चन परिवारसँग भेटघाट गरिरहेकी हुन्छिन्। ‘उहाँहरु केही गाह्रो अफ्ठ्यारो भए निसंकोच भन्न आग्रह गर्नुहुन्छ। यो मेरो लागि ठूलो कुरा हो’, उनले भनिन्।
नेपालमा हुँदा तारा २०४३ सालमा रेडियो नेपालमा लोकगीत प्रतियोगितामा भाग लिन काठमाडौं पुगेकी थिइन्। उनले त्यतिबेला गाउँ र बनपाखाका गीत गाएको सुनाइन्। र, एउटा कटु अनुभव पनि गरिन्, ‘अहिले कस्तो छ मलाई थाहा छैन्। तर, गाउँबाट गएको हुनाले गर्दा होला दौतरीबाट खुब हेपाई खाइयो काठमाडौंमा। केही राम्रा कुरा पनि भएँ।’
उनी जीवनलाई संघर्ष मान्छिन्। मुम्बईमा आफूले गर्नु परेको संघर्ष सम्झेर अहिले पनि उनी अचम्मित हुन्छिन्। मुम्बईमा उनको ‘गडफादर’ कोही थिएन्। त्यसमा पनि नेपाली चेली। सामान्य भेटघाटकै क्रममा लोग्ने मान्छेहरु उनलाई साँझमा भेट्न कर गर्थे।
‘कतिले जीवन नै कम्प्रोमाइज हो भनेर ब्ल्याकमेल गर्न खोज्थे। कतिले बिहेको बहाना बनाउँथे। मलाई थाहा थियो, यी सबै एक्लो महिलादेखेर गरिएको हर्कत हो। म जोगिन्थे। अहिले सम्झन्छु, वास्तवमै कसरी जोगिए होला,’ मुम्बईमा हुने गरेको विभिन्न खाले हर्कतको विषयमा कुरा उप्काउँदै उनी भन्छिन्।
ताराले ‘सहारा वान’ बाट प्रसारण हुने ‘नियती’ सिरयलमा लामो समय रामायणकी सिताको भूमिका निर्वाह गरेकी थिइन्। यतिबेला रामायणका ठूलाठूला डाइलग कण्ठ गर्नुपर्ने चुनौति थियो, उनीमाथि। तर, उनले त्यो चुनौतिलाई सहजताका साथ निर्वाह गरिन्। त्यसैले अहिले उनलाई कामको कुनै अभाव छैन्।
ताराले नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन्। इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेको ‘गोर्खा पल्टन’ मा उनी आमाको भूमिकामा देखिएकी थिइन्।
बाल्यकालमा आमाको हात समाउँदै गीत गाउने र नाच्ने तारा आज बलिउडमा अभिनय र निर्देशन गर्दै अगाडि बढिरहेकी छिन्। उनले स्टार प्लसबाट प्रसारण भएको ‘तुजसँग प्रित लगी सजना’, नेशनल टेलिभिजनबाट प्रसारण भएको ‘पियार’ मा पनि अभिनय गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।