नवलपुर- घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’मा व्यवसायी जीवा लामिछाने र नेता गगन थापाबीच छलफल भएको छ। लामिछानेको संस्मरणात्मक कृति ‘देश देशावर’माथि उनीहरूबीच छलफल भएको हो।
छलफलमा थापाले संस्मरण र देश विकासबारे विविध प्रश्न गरेका थिए। लामिछानेले यात्रा अनुभव र एक व्यवसायीको हैसियतले नेपाल विकासको पाटोबारे चर्चा गरे। ‘धेरै ठाउँ घुम्दाको अनुभवले के भन्छ भने- देश विकासका लागि राजनीतिक परिवर्तन मात्र नभई आर्थिक क्रान्तिको पाटो पनि उत्तिकै आवश्यक छ,’ लामिछानेले भने।
थापाले सत्रको सुरुवातमा जीवाको यात्रा गर्ने रहरको कारणबारे सोधेका थिए- ‘हामी काम पर्दा यात्रा गर्छौं तर तपाईंको त काम नै यात्रा गर्नु जस्तो देखिन्छ नि?’
लामिछानेले पढाइको सिलसिलामा सोभियत संघ जानु र युरोपका विभिन्न देश घुम्ने मौका पाउनु नै यात्राप्रति रुचि बढ्ने कारण भएको बताए। पढाइपछि सुरु गरेको व्यवसाय प्रवर्द्धनका लागि घुम्नुपरेको उनको कथन छ। त्यस्तै पछिल्लो समय उनी परिवारलाई समय दिनका लागि घुम्न थालेका छन्।
जीवनको फरक चरणमा फरक कारणले यात्रा गरेका लामिछानेले यात्रासँग जोडिएका अनुभवहरूलाई पुस्तकमा उतारे। तिनै संस्मरणहरूको संग्रह हो, ‘देश देशावर’।
विभिन्न देशले भोगेको राजनीतिक, प्राकृतिक एवं सामाजिक चुनौती, त्यहाँ घुम्दा देखेका परिवर्तन र विकासले आफूलाई आकर्षित गरेको र नेपालमा पनि त्यस्ता परिवर्तनको सम्भावना देखेको बताए।
‘तर नेपालमा जति स्रोत छ त्यसको सही उपयोग भएको छैन। विकासको गति जति हुनुपर्दथ्यो, त्यति छैन,’ लामिछानेले भने, ‘हाम्रो देशमा राजनीति गर्नेहरू सिद्धान्तमा अलमलिए । कानुन बने तर कार्यान्वयनको पाटोमा कमजोर भयौं।’
नेपालमा सम्पदा र पर्यावरण प्रवर्द्धनमा जोड दिनुपर्ने र गुणस्तरीय पर्यटनले पनि देश विकासमा टेवा पुर्याउने उनको तर्क छ। छलफलमा गगनले आफूले पनि पुस्तक लेख्ने र अर्का व्यक्तिलाई सहजकर्ता बनाएर पुस्तकमाथि छलफल गर्ने रहर भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।