भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा गए राति अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भीर घाइते भएका मर्चवार कोटहिमाई गाउँपालिका १ का रामकेश धवलको मृत्यु भएको छ।
गोली लागेर गम्भीर घाइते धवलको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
मणिग्राममा घर बनाउने काम गरेर बेलुकी खाना बनाउँदै गरेका बेला ४१ वर्षीय धवललाई रातो रङको मोटरसाइकलमा आएका व्यक्तिले पछाडिबाट गोली हानेर फरार भएको रुपन्देही प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले धवलको पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने आंशका गरेको छ। गोली प्रहारमा धवलकै छोराको संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बुधबार दिउँसो छोरा सन्दीपले बुवासँग झगडा गरेको र अझैसम्म सम्पर्कविहीन रहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।
बाबु-छोराबीच केही समय अगाडिदेखि नै मनमुटाव रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।