राजविराज– सिद्धिचरण लोकर्मागअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ ठाटीमा बिहीबार टिप्पर दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ।
कटारी बजारबाट सोलु हाईड्रोको सिमेन्ट बोकेर सोलुखुम्बु जाँदै गरेको ना७ख ६७०६ नम्बरको टिप्पर दुर्घटना हुदाँ सिन्धुलीको दुधौली नगरपालिका–२ बस्ने सहचालक १८ वर्षीय इन्द्रबहादुर सार्कीको मृत्यु भएको छ। दुर्घटनामा परि चालक ३५ वर्षीय शेरबहादुर खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी निरिक्षक मनप्रसाद श्रेष्ठले बताए।
घाइते चालक खत्रीको कटारी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर लग्ने तयारी भइरहेको प्रहरी निरिक्षक श्रेष्ठले बताए।
टिप्पर सडकबाट झण्डै ५ सय मिटर तल खसेको चालकको उपचारमा संलग्न यातायात व्यावसायी शत्रुधन कार्कीले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थल इलाका प्रहरी कार्यालय कटारीबाट करिब २३ किलोमिटरको दुरीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।