राजविराज- इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व बिहीबारदेखि सुरु भएको छ।
इस्लाम पात्रो हिजरी सम्वत अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म रोजा (व्रत) बस्छन्।
आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ। इस्लामका पाँच आधार स्तम्भमध्ये रोजा एक हो। अन्य चार खम्बा इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ) र जकात (दान)लाई मानिन्छ। अरू महिनाका तुलनामा ‘रमजान’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा लिन्छन्।
वयस्कहरुलाई रोजा अनिवार्य भए पनि नाबालिक अवस्था, भोक–तिर्खा सहन नसक्ने वृद्ध अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन। रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा एक÷डेढ घन्टा पहिलेदेखि सूर्यास्त नहुन्जेल केही नखाई व्रत बस्छन्।
रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सतप्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरण विकास हुने विश्वास छ।
यो महिनामा विशेषगरी कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने गरिन्छ। जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत भंग हुने मान्यता छ। सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खानेकुरा खाएर व्रत तोड्छन्।
रमजान महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मदमाथि कुरानका आयात (श्लोक) अवतरण सुरु भएको थियो भन्ने मान्यता छ। त्यसमध्येमा पनि अन्तिम बिजोडा रातहरू २१, २३, २५, २७ र २९ लाई अझ विशेष महत्वका मानिन्छन्। मान्यता अनुसार यिनैमध्ये एक रातमा साउदी अरबको हेरा भन्ने ठाउँमा भक्तिमा लीन भएका बेला ‘जिब्रिल’ भन्ने देवदूत मार्फत पहिलो पटक मोहम्मदमाथि पवित्र धर्मग्रन्थ कुरान अवतरण भएको थियो।
रमजान महिनाको रोजासँग जकात (दान) लाई पनि सँगै जोडेर लिने गरिएको छ। इस्लामी कानुन अनुसार कुनै व्यक्ति ऋणमुक्त छ र ऊसँग दैनिक उपभोग्य वस्तु, आवश्यक आवास सुविधाबाहेक साढे सात तोला सुन वा साढे बाउन्न तोला चाँदी वा त्यस बराबरको सम्पत्ति छ भने उसले दान गर्नु अनिवार्य छ। मुसलमान समुदायबाट निकालिएको जकातको रकम गरिब, असक्षम र असहायको सहयोगमा खर्च गरिन्छ। एक महिने रोजा सकिएको भोलिपल्ट ‘इदउल फित्र’ पर्व मनाइन्छ।
मुख्यमन्त्रीले दिए शुभकामना
रमजानको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गरेका छन्। उनले प्रदेश २ का साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति एवं समृद्धिका साथै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त 8लाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न पर्वले सहयोग पु¥यायोस् भन्ने कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।