काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार मन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली कामदारमाथि अवैधानिक रुपमा लिने गरिएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरिएको जानकारी दिए। बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी मन्त्री विष्टले अतिरिक्त शुल्क नलिने सरकारको निर्णय कार्यान्वयनका लागि मलेसिया सरकारलाई अनुरोध गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्ने प्रक्रिया अघि बढाइएको पनि बताए।
मन्त्री विष्टले सरकारको यो निर्णय कार्यान्वयन गर्न÷गराउन पनि मातहतका निकायलाई सचेत गराएका छन्। मलेसिया जाने नेपाली कामदारमाथि भीसाबाहेकको शुल्क लगाइए सम्बन्धित निकायलाई कडा कारबाही गर्ने मन्त्री विष्टको योजना छ।
त्यसैगरी सरकारले एकपक्षीय रुपमा ३९ वटा स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउने प्रावधान हटाउने निर्णय पनि गरेको छ। स्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरुबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गराउने व्यवस्था पनि लागू गरिएको मन्त्री विष्टले जानकारी दिए। यस व्यवस्थाले स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेटको अन्त्य हुने सरकारले स्पष्ट पारेको छ ।
मन्त्री विष्टले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सबै खालको नीतिगत र संरचनागत निर्णय लिने प्रतिबद्धता व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि अन्याय हुन नदिने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।