काठमाडौं– ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
मन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेको भन्दै त्यसका लागी नेपालमा चिनियाँ लगानी आवश्यक रहेको बताए। उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाइदिन उपगभर्नर युसिङलाई आग्रहसमेत गरे।
मन्त्री पुनले चीनसँग नेपालले गतवर्ष नै बिआरआईमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरे।
भेटमा उनले हाल नेपालको १ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता भए पनि मन्त्रालयले आगामी ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको बताए।
भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त ऊर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न इच्छुक रहेको बताए। ‘हामी ऊर्जा र जलविद्युतका साथै निर्माण र पुनर्निर्माणको क्षेत्रमा काम गर्न इच्छुक छ,' उनले भने, 'त्यसका लागी सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसँग सहकार्य सुरु गरेको छ।’
उनले सिचुवानमा व्यापार र अध्ययनका लागि थुप्रै नेपाली रहेको भन्दै सिचुवानमा वाणिज्य दूतावास खोलिदिनसमेत मन्त्री पुनसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।