काठमाडाैं- नेपाली कांग्रेसले निर्णय दिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्न ढिलाइ भएको नेताहरूले बताएका छन्। माओवादी केन्द्र र जसपासँग अनौपचारिक छलफलमा रहेको कांग्रेसले अन्तिम निर्णय लिन सकेको छैन।
कांग्रेस-माओवादी-जसपा पार्टीबीच ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन आन्तरिक छलफल भइरहेको छ। तर, कांग्रेसका कारण अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको माओवादी केन्द्र र जसपाकै नेताहरुको दाबी छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए। प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवालाई प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता गरिहाल्ने पक्षमा प्रचण्ड देखिएका थिए।
देउवासँगको भेटमा प्रचण्डले प्रधानमन्त्री ‘तपाई बन्नु’ भनि प्रस्ताव गरेका थिए। प्रतिउत्तरमा देउवाले पार्टीभित्र छलफल गरेपछि मात्रै निर्णय लिने जवाफ दिएको देउवानिकट एक नेताले बताए।
माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले ३० दिनमा आन्तरिक तयारी गर्ने समय पाउँछन्। प्रधानमन्त्रीको ‘भित्री खेल’ रोक्नकै लागि माओवादी केन्द्र र जसपाका केही नेता लागिरहेका छन्। जसपाका एक नेताले भने, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा ओलीले ३० दिन खेल्न पाउँछन्। अविश्वासको प्रस्ताव ल्याइयो भने साता दिनमै मुलुकले नयाँ प्रधानमन्त्री पाउन सक्छ।’
कांग्रेसले निर्णय गर्नासाथ अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन सुरु हुने उनको भनाइ छ। संसदमा बहुमत पुर्याउन १३८ सांसद आवश्यक पर्दछ। कांग्रेस-माओवादी केन्द्र-जसपाले संसदमा बहुमत पुग्छ। कांग्रेसका ६३, माओवादी केन्द्रका ५३ र जनता समाजवादीका ३४ सांसद छन्। कांग्रेस र जसपाका २/२ सांसद निलम्बनमा छन्।
माओवादी केन्द्रका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी वर्तमान सरकारमा छन्। उनीहरु पुरानो पार्टीमा नफर्के माओवादीसँग ४९ सांसद पुग्छन्। तीन दलको कुल सांसद संख्या १४२ जना पुग्दछ। उक्त संख्याले नयाँ सरकार बन्न सक्दछ।
जसपाको एक पक्ष ओलीसँग नजिकिएपछि उक्त दलका शीर्ष नेताको बैठक जारी रहेको बताइएको छ। अध्यक्षद्वय उपेन्द्र यादव, महन्थ ठाकुर,संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, नेताहरु अशोक राई र राजेन्द्र महतो आन्तरिक छलफल जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।