काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको हो।
फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन्। उनीसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै रहने भएपछि ओली पक्ष उनीहरूको व्यवस्थापनमा लागेको हो।
एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त छ। सोही पदमा बादललाई लैजानेगरी ओली पक्षले तयारी गरिरहेको छ। एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष छन्।
बादलसहितका नेताहरूको व्यवस्थापनबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन्।
प्रधानमन्त्री ओलीसँग बादलसहितका नेताहरूले हिजो पनि छलफल गरेका थिए। त्यसपछि बादल, रायमाझी, थापा, भट्टले गृह मन्त्रालयमा छुट्टै छलफल गरेका थिए।
बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटीमा राख्ने दुई पक्षबीच सहमति भएको बुझिएको छ। यस्तै प्रभु साह, गौरीशंकर चौधरी यसअघिकै कमिटीमा राखिने भएको छ। उनीहरू माओवादीको केन्द्रीय कमिटीमा थिए।
तर, दावा तामाङलाई भने पछि केन्द्रीय कमिटीमा मनोनित गर्नेगरी सहमति भएको नेताहरूले बताएका छन्। माओवादी केन्द्रबाट आएका नेताहरुलाई २० प्रतिशत हिस्सा दिने लगभग सहमति भएको छ।
छलफलमा माओवादी केन्द्रबाट आएका नेताहरूले एमाले मान्दै आएको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादमा केही शब्द हेरफेर गर्नुपर्ने माग गरेका छन्। मुलतः सिद्धान्तलाई स्वीकारेपनि शब्दमा केही हेरफेर गर्नुपर्ने उनीहरूको माग छ।
‘जबज भनेर जाँदा गाह्रो हुन्छ। टेक्ने आधार दिनुस् भनेका छौं’, ओली पक्षमा लागेका पूर्वमाओवादीका एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।