काठमाडौं– वीरगञ्ज मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन्। उनी १९ हजार ३ सय ९३ मत ल्याई विजयी भएका हुन्।
सरावगीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीले १७ हजार १ सय ९७ मत प्राप्त गरे। उपमेयरमा भने कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय ७ मत ल्याएर विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५ सय ३० मत प्राप्त गरिन्।
मेयर निर्वाचित सरावगी व्यापारिक पृष्ठभूमिका हुन्। वित्तीय र व्यवसायको क्षेत्रमा प्रभुत्व जमाएका सरावगी समाजवादी फोरमले टिकट दिने पक्कापक्की भएपछि ६ महिनाअघि मात्र पार्टी प्रवेश गरेका हुन्। यसअघि सधैं कांग्रेसलाई मत दिएको बताउने सरावगी राजनीतिक दलका नेताले वीरगञ्जको विकास गर्न नसकेपछि आफू वाध्य भएर राजनीतिमा होमिएको बताउँछन्।
‘वीरगञ्जलाई पुनः सम्वृद्ध सहर बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ,’ चुनावी प्रतिस्पर्धामै रहेका बेला नेपाल लाइभसँगको कुराकानीमा उनले भनेका थिए। निर्वाचित भइसकेपछि उनले आफूले गरेका बाचा कति पूरा गर्लान्, त्यो त भविश्यले देखाउला। मेयरको चुनावी प्रतिस्पर्धामा रहेका बेला उनले के–कस्ता प्रतिबद्धता व्यक्त गरेका थिए त? हेर्नुहोस् सरावगीसँग रुपेश श्रेष्ठले गरेको यो भिडियो वार्ताः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।