विराटनगर– प्रदेश नम्बर १ को प्रदेशसभाले ११ वटा विषयगत कानुन निर्माण गरी पारित गरेको छ।
कानुन नभएकै कारण स्थानीय सरकार सञ्चालनमा समस्या आएकाले कानुन निर्माणलाई तीव्रता दिइएको संसद् सचिवालयले जनाएको छ।
चैत १९ गतेबाट विधेयक पारित गर्न सुरु गरेको प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि, २०७४, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण विधेयक, गाउँसभा र नगरसभा सञ्चालन विधेयक, प्रदेश नं १ आकस्मिक कोष सञ्चालन विधेयक पारित गरिसकेको छ।
प्रदेशसभाले बैसाख २४ गते एकैदिन ५ वटा विधेयक पारित गरेको थियो। मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायत पारित भएको हो।
त्यस्तै, प्रशासनिक कार्यविधि (नियमित गर्ने) सम्बन्धमा बनेको विधेयक न्याय प्रशासन तथा विधायन समितिमा पठाइसकिएको संसद् सचिवालयका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए।
प्रदेशसभामा २२ दिनमा ३९ वटा बैठक बसिसकेको छ। अबका केही बैठक कानुन निर्माणमै केन्द्रित हुने प्रदेशसभाका सभामुख प्रदीप भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।