काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सात वटै प्रदेशमा जलविद्युतका ठूला आयोजना निर्माण गरिने बताएका छन्।
सिंहदरबारमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको भेटवार्ताका क्रममा ऊर्जामन्त्री पुनले सबै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजना अनुसार प्रदेश ७ मा पनि एउटा ठूलो आयोजना बन्ने बताए।
मुख्यमन्त्री भट्टले पश्चिम सेती आयोजना अगाडि बढाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री पुनले सरकारी योजनाबारे जानकारी गराएका हुन्।
मन्त्री पुनले पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन संघ सरकार सकारात्मक रहेको र त्यसका लागि अध्ययन भइरहेको बताए। सिंचाइ, जलविद्युत्सँग सम्बन्धित केही अधिकार संविधानले नै ग्यारेन्टी गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने बताए।
मन्त्री पुुनसँगको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश ७ मा जलविद्युतका थुुप्रै सम्भावना रहेकाले प्रदेश सरकार संघसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। भट्टले लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना जुुनसुुकै मोडालिटीमा भएपनि अघि बढाइदिन मन्त्री पुुनसँग आग्रह गरे।
यसैगरी, मुख्यमन्त्री भट्टले कर्णाली नदीबाट सुविधासम्पन्न नहर निर्माण गरेर सिंचाइ सुुविधा पुर्याउने उद्देश्यले निर्माणाधिन रानीजमरा सिंचाइ आयोजनाको काम द्रुत गतिमा अगाडि बढाइदिन पनि आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।