काठमाडौं– साफ यू–१८ च्याम्पियनसिपको अन्तिम दिनको खेलमा बंगलादेशले आयोजक भुटानलाई २–० गोलले पराजित गरेको छ। बंगलादेशको जितमा जफर एकबालले ८२ र ८८ मिनेटमा गोल गरे।
जितसँगै बंगलादेशको उपाधि जित्ते सम्भावना बलियो बनेको छ। पराजयसँगै भुटानको उपाधि यात्रा सकिएको छ।
अहिले पौने सात बजे भुटानको थिम्पुस्थित चाङलिमिथाङ नेपाल र भारतबीचको नतिजा पछि विजेताको टुंगो लाग्नेछ। खेलमा भारतलाई हराए नेपाल च्याम्पियन बन्नेछ। भारत विजयी भएको खन्डमा बंगलादेश विजेता बन्नेछ। पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडमा च्याम्पियन बन्नेछ। नेपाल र भारतबीच बराबरी भए पनि बंगलादेशले उपाधि जित्नेछ। राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको बढी अंक जोड्ने टिम च्याम्पियन बन्ने प्रावधान छ।
४ मध्ये ३ खेलमा विजयी बंगलादेशको ९ अंक छ । एक खेल कम खेलेका नेपाल र भारतको समान ६–६ अंक छ।
पहिलो खेलमा आयोजक भुटानसँग पराजित भएको नेपालले दोस्रो खेलमा माल्दिभ्स तथा तेस्रो खेलमा बंगलादेशलाई हराएर उपाधि रक्षा गर्ने सम्भावना जीवितै राखेको थियो। दुई वर्षअघि नेपालमै आयोजना भएको साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई हराएर उपाधि जितेको थियो । यस पटकदेखि प्रतियोगिता यू–१८ उमेरसमूहमा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।