काठमाडाैं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार दिउँसो भेट भएको छ। सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको हो।
प्रधानन्यायाधीश जबरालाई भेट्न थापा सर्वोच्च पुगेको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सर्वोच्चको नयाँ भवन निर्माणका लागि आवश्यक जग्गाबारे समन्वय गर्न प्रधानसेनापति थापा पुगेका थिए।
सर्वोच्च अदालत भवनको पछिल्तिर रहेको सो जग्गा नेपाली सेनाको नाममा रहेको छ। प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वाेच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो।
‘क्याभलरीको जग्गा सर्वाेच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हो,’ सर्वाेच्च अदालतले भनेको छ, ‘नामसारीबारे छलफल भएको र सर्वोच्चको भवन बनाउने प्रक्रिया नै शुरु भएकाले सहजीकरण गर्न कुरा भएको छ।’
अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए।
अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो।
सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ‘हेर्दाहेर्दै’मा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेट भएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।