चितवन- आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यले चितवनको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ।
सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो।
आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेका हुन्। पीडित बालककी आमा सिर्जनाका अनुसार, छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ। घाँटीमा हातले थिच्दा नीलडाम परेको छ भने दुवै आँखामा रगत जमेको छ।
पीडित बालकका अनुसार गहिरो घाउका कारण नाक र मुखबाट समय समयमा रगत बग्ने समस्या देखिएको छ।
सिर्जनाका अनुसार बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि मंगलबार प्रहरीमा उजुरी दर्ता गरिँदै छ।
उनले भनिन्, 'घटना भएपछि विद्यालयले घटना लुकाउन समयमै जानकारी पनि दिएन।'
अन्य अभिभावकबाट सूचना पाएपछि आफूले शनिबार दिउँसो मात्रै छोरालाई भेटेर घर ल्याएको र उपचार थालेको उनले बताइन्।
कक्षा ९ मा अध्ययनरत श्रीनवले घटना विवरण सुनाउँदै भने, 'बिहान ३ बजेतिर साथी अनिस श्रेष्ठले पिसाब फेर्न जाऔं भन्यो। सँगै म शौचालय गएँ। सधैँ नयाँ साथी क्रिस थापाले शौचालय जाउँ भन्थ्यो, त्यो दिन अनिसले भन्यो। रिवाज रेग्मी शौचालयको ढोकामा लुकेर बसेको रहेछ। मैले रिवाजलाई देख्नेबित्तिकै झस्किएँ। यहाँ किन लुकेको भनेँ।'
घटना सुनाउँदै श्रीनवले अगाडि भने, 'अर्को साथी क्रिस थापाले पछाडि आएर मेरो घाँटी न्याँक्यो र भित्तामा ठोक्काएर न्याँकिरह्यो, म चिच्याइरहेँ। मलाई धारोको टुटीमा पनि ठोक्याए, धारो भाँच्चियो। त्यतिबेला अरु दुई जना, सुयोग श्रेष्ठ र रिजन श्रेष्ठ पिसाब फेर्न आए, क्रिसले उनीहरुले चुप लाग, उता जा भन्यो। त्यतिबेलै म चिच्याएको मेरो बेड पार्टनर सुयोग खनालले सुनेछ। उसले पालेलाई भनेछ। पालेदाइ आएपछि उनीहरु भागे।'
क्रिस थापा भन्ने विद्यार्थी कक्षा ६ मा पनि त्यही विद्यालयमा अध्ययन गरेको तर विभिन्न बहाना बनाई घर जाने गरेको श्रीनवले सुनाए। त्यसपछि बीचमा उक्त विद्यालय छोडेर अन्यत्र पढ्न गएका क्रिस पुनः कक्षा ९ मा सो विद्यालयमा आएको उनले बताए।
क्रिसले एक जना साथी मारेमा विद्यालय बन्द हुने र यहाँ पढ्न र बस्न नपर्ने बताउँदै आएको श्रीनवले बताए।
घटनापछि श्रीनवलाई बिहान ३:४५ बजे स्थानीय चौधरी पोलिक्लिनिकमा उपचार गरिएको श्रीनवले बताए। बिहान १० बजेतिर विद्यालयका निमित्त प्राचार्य भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको लामिछानेले बताए। पीडित बालकका परिवारले जघन्य घटना हुँदासमेत विद्यालयले लुकाएको आरोप लगाएका छन्।
विद्यालयका निमित्त प्राचार्य न्यूरेले टेलिफोन उठाएनन् भने विद्यालय हेर्दै आएका मेजर प्रकाश अधिकारीले घटनाबारे बोल्न नमिल्ने बताए। यस विषयमा जानकारी लिन खोज्दा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले घटनामा संलग्न तीन जना विद्यार्थीलाई निलम्बन गरिएको बताए। उनले पीडित विद्यार्थी आराम गरिरहेको जानकारी दिए।
कक्षा ६ भन्दा माथि मात्रै पढाइ हुने सो विद्यालयमा छात्रलाई अनिवार्य आवासमा राख्नुपर्ने व्यवस्था छ भने छात्रालाई घरबाटै आउने जाने व्यवस्था गरिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।