काठमाडौं- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट दत्तबहादुर रोकायालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षले डोल्पा जिल्ला अध्यक्ष बनाएको छ। एकीकृत पार्टी हुँदा रोकाया ओली पक्षबाट जिल्ला अध्यक्ष भएका रोकायालाई नै प्रचण्ड-नेपाल समूहले पनि जिल्ला अध्यक्षमा निरन्तरता दिएको हो। तर रोकायाले भने प्रचण्ड-नेपाल पक्षकमा नभएको बताएका छन्।
आफू ओली पक्षमा लागेर चुनावको प्रचारप्रसारमा खटेर लागेको बताएका उनले प्रचण्ड-माधव पक्षसँग कुनै कुराकानी पनि नभएको र आफूलाई प्रचण्ड-नेपाल पक्षले जिल्ला अध्यक्ष बनाएकोबारे जानकारी नभएको बताए।
‘अहिले म निर्वाचनको प्रचारप्रसारमा लागेको छु। केपी ओलीको पक्षमा नारा जुलुसमा सहभागी भइरहेको छु। प्रचण्ड-नेपाल पक्षले एकपटक पनि नसोधी कसरी अध्यक्षमा राखे?’ रोकायाले अनभिज्ञता प्रकट गरे, ‘अस्ति गोरखबहादुर बोगटीलगायत सबै बसेर आफ्नो पक्षबाट नेतृत्व टुंगो लगाइसक्यौँ। त्यस्तो बेला उनीहरुले कसरी अध्यक्षमा बनाए?’

रोकायालाई डोल्पा जिल्ला अध्यक्ष बनाएको विषयमा आफूलाई जानकारी नभएको नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए। ‘ओली पक्षका दत्तबहादुर रोकायालाई प्रचण्ड-नेपाल पक्षबाट फेरि अध्यक्ष बनाएको विषयमा थाहा छैन,’ पाण्डेले नेपाल लाईभसँग भने, ‘कर्णाली इन्चार्ज जनार्दनजी हुनुहुन्छ। उहाँले दत्तबहादुर कमरेडेको नाम ठिकै होला भनेर सिफारिस गर्नुभयो होला।’
प्रचण्ड-नेपाल पक्षले माघ १ र २ गते बसेको स्थायी कमिटीले ५०/५० प्रतिशतका आधारमा ६८ जिल्लाको नेतृत्व टुंगो लगाएका हुन्। जसमा प्रचण्ड समूहबाट ३५ जिल्ला र ३३ जिल्लाको नेतृत्व नेपाल पक्षले दिएको छ। अरु जिल्लामा आवश्यक परामर्शमा जिल्ला नेतृत्व टुंगो लगाउने भनिएको छ। जिल्लामा इन्चार्ज, सहइन्चार्ज अध्यक्ष र सचिव हुने गरी पदाधिकारी कायम गरिएको छ।
प्रचण्ड-माधव पक्षका कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्माले दत्तबहादुर रोकायालाई डोल्पा जिल्ला अध्यक्ष बनाइएको विषय आफूलाई जानकारी नभएको बताए। 'प्रदेश कमिटीमा एक पटक छलफल पनि भएन। एकैपटक नेतृत्वको टुंगो लगाइयो भन्ने विषय सञ्चारमाध्यमबाट मैले पनि सुनेँ। यस विषयमा मलाई जानकारी छैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।