चितवन– उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव नदिने बताएका छन्। आयोग र अदालतले आ–आफ्नो काम गरिरहेको भन्दै उनले दवाव नदिने दाबी गरेका हुन्।
भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे।
यता प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने बताए।
‘सरकारले आयोग र अदालतलाई कुनै दवाव दिँदैन। विधिसम्मत ढङ्गले काम अघि बढाउँछ,’ उनले भने।
निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको समेत उनले बताए।
‘निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटिसकेका छन्,’ उनले भने,‘ निर्वाचन निर्धारित समयमा नै हुन्छ र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा छैन।’
उनले लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका निर्वाचनको विपक्षमा उभिनुपर्ने आवश्यकता नरहेको समेत स्पष्ट पारे।
‘राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा जनताबाट अनुमोदित हुने र नमान्ने कुरै भएन। अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।