भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन। सरकारले सेरमसँग किनेको यही भ्याक्सिनको १० लाख डोज आइतबार नेपाल आइपुग्ने भएको छ। फाइल तस्बिर
काठमाडौं- सरकारले भारतीय कम्पनीबाट खरिद गरेको कोभिडविरुद्धको कोभिसिल्ड खोप पहिलो चरणमा १० लाख डोज आइतबार (भोलि) काठमाडौं आइपुग्ने भएको छ। शनिबार विराटनगरमा आफूपक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार १० लाख डोज भ्याक्सिन आइपुग्ने जानकारी दिएका हुन्।
नेपाल सरकारले सेरम इन्स्च्यिूट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रतिएक डोज ४ डलरमा उक्त खोप २० लाख डोज खरिद गरेको हो।
उक्त सम्झौता अनुसार पहिलो चरणमा १० लाख डोज खोप भोली एयर इन्डियाको विमान मार्फत दिल्लीबाट १ः३० बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सरकारले फागुन २३ गतेदेखी संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो।
उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ।
स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।