काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन्। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओली लिखित जवाफसहित आफैं अदालतमा उपस्थित भएका हुन्।
प्रधानमन्त्री अदालत उपस्थित हुँदा सुरक्षा व्यवस्था कडा पारिएको छ। कानुन व्यवसायीलाई इजलासमा जान समेत रोकिएको छ। उच्च सुरक्षासहित पुगेका प्रधानमन्त्री लिखित जवाफ पेश गरेर फर्किनेछन्। उनले रजिष्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन्।
अवहेलना मुद्दामा न्यायाधीश मनोज शर्माको एकल इजलासले माघ १५ गते प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैं उपस्थित हुन आदेश गरेको थियो।
वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतको यस्तो आदेश आएको हो। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटक-पटक अभिव्यक्ति दिएको तथा कानून व्यवसायीहरूलाई होच्चाएको र इजलासमा भइरहेको बहसलाई तमासा भनि टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो।

ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गरेका थिए। ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन दर्ता गराएका थिए।
सर्वोच्च अदालतले अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरूलाई पनि सात दिनभित्र उपस्थित भएर जवाफ दिन भनेको थियो। उनीहरूले सर्वोच्चमा पुगेर जवाफ दिइसकेका छन्। उनीहरू फागुन ३ गते अदालतमा उपस्थित भएका थिए। प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।