काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार ५ सम्म पनि निर्वाचन नभए कांग्रेसले सडकमा जानुपर्ने बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा बोलिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बीचमा रोक्दै देउवाले ६ महिनाभित्र निर्वाचन गराउने समय प्रधानमन्त्री केपी ओलीलाई भएको बताए।
'प्रतिनिधि सभा विघटन भएको असार ५ मा ६ महिना पुग्छ। असार ५ सम्म निर्वाचन ओलीले नगराए उनीविरुद्ध कांग्रेसले सडक आन्दोलन गर्नुपर्छ,' बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सभापति देउवालाई उद्धृत गर्दै भने।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेपछि पुर्नबहालीको माग गर्नुपर्ने नेता पौडेलको भनाइ थियो। पौडेलको बोलीको प्रतिवाद गर्दै देउवाले असंवैधानिक भनिसकिएको उल्लेख गर्दै प्रतिपक्ष निर्वाचनकै पक्षमा हुनुपर्ने जिकिर गरेका थिए। ‘पुर्नस्थापना भए त भइहाल्यो। चुनाव हुने भयो भने नगर्न कसरी हामीले भन्ने? हामी त सहभागी हुनैपर्छ नि!,’ ती केन्द्रीय सदस्यले देउवाको बोली उधृत गर्दै भने।
अदालतमा विचाराधीन मुद्दाको पक्ष/विपक्षमा जुलुस निकाल्नै नहुने देउवाको भनाइ थियो। प्रतिनिधि सभा विघटनविरुद्ध धारणा कांग्रेसले जनताकहाँ पुर्याइसकेको उनको दाबी थियो। थप आन्दोलनका पक्षमा देउवा नदेखिएको बताइएको छ।
पौडेलले सभापति देउवाको बोलीको प्रतिवाद गर्दै उनले इतिहासको प्रश्न कांग्रेसलाई उठ्ने बताएका थिए। विधि पालन भए/नभएको ख्याल गर्ने दायित्व कांग्रेसको रहेको उनले देउवालाई सुनाए।
‘संविधानको संरक्षण गर्न सकिएन भने इतिहासले कांग्रेसलाई प्रश्न गर्छ। हामीले लडेर ल्याएको प्रणाली बचाउनुपर्छ,’ पौडेलले भनेका थिए। ओलीको कदम रोक्न सकिएन भने ‘तानाशाह ओली’को उदय हुनेप्रति उनले चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।