काठमाडौं– आईसीसी टी–२० विश्वकपका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ ।
चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिँदै आफूले फिल्डिङ रोजेको छ । मुम्बईमा तयारी गरिरहेको टोली अभ्यास खेलका लागि सोमबार चेन्नई पुगेको थियो ।
दोस्रो खेल नेपालले बिहीबार क्यानडासँग खेल्ने छ । दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग गर्ने अपेक्षा नेपाल क्रिकेट संघ क्यानको छ ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।
यस्तो छ नेपालको प्लेइङ ११
कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी र लोकेश बम ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।