काठमाडौं- नेपाल सरकारले छिमेकी मुलुक भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले दिएको नेपालसम्बन्धी आपत्तिजनक अभिव्यक्तिलाई लिएर भारत सरकारको ध्यानाकर्षण गराएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसबारे औपचारिक रुपमा औपचारिक च्यानलमा ध्यानाकर्षण गराइसकिएको बताएका छन्।
त्रिपुराका मुख्यमन्त्री विप्लव देवले गत शनिबार नेपालका सम्बन्धमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए। भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन अध्यक्ष, हाल भारत सरकारका गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउने योजना रहेको बताएको अभिव्यक्ति देवले दिएका थिए।
देवले शाहले भाजपाको अध्यक्ष रहेका बेला एउटा पार्टी बैठकमा त्यस्तो योजना सुनाएको शनिबार राजधानी अगरतालाको एक कार्यक्रममा बताएका थिए। उनले भनेका थिए, ‘राज्य सरकारको गेष्ट हाउसमा चलेको छलफलमा शाहले अब श्रीलंका र नेपालमामात्र भाजपाको सरकार बन्न बाँकी रहेको हुँदा ती दुई देशमा पनि पार्टी विस्तार गरेर सरकार बनाउनका लागि जित्नुपर्छ भन्ने योजना सुनाउनुभयो।’
परराष्ट्रमन्त्री ज्ञवालीले ट्विटरमा यसबारे ‘औपचारिक आपत्ति व्यक्त गरिसकिएको’ उल्लेख गरेका छन्।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने अधिकारीलाई फोन गरेर देवको अभिव्यक्तिका सम्बन्धमा यसअघि नै चासो व्यक्त गरेका थिए। यो अभिव्यक्तिको भारतीय राष्ट्रिय कांग्रेस र त्यहाँका वामपन्थी दलहरूले समेत विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।