काठमाडौं- नेपालबाट भारततर्फ डिजेल चोरी निकासी गरिरहेको अवस्थामा पर्सा प्रहरीले एउटा ट्यांकर नियन्त्रणमा लिई कारबाही प्रकृया सुरु गरेको छ।
डिजेल भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको ट्यांकरलाई नेपाल आयल निगमको जिम्मा लगाई थप अनुसन्धान सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
नेपाल आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी सम्झौताअनुसार गौरीशंकर ढुवानी सेवा प्रालिको नाममा रहेको ना ७ ख १५११ नम्बरको ट्यांकरले श्री श्वेता आयल सेन्टर जगरनाथपुर पर्साबाट आइतबार राति अनधिकृत रुपमा ट्यांकरको चेम्बर र फ्युल ट्यांकमा गरी १ हजार ३ सय ६० लिटर डिजेल भारततर्फ चोरी निकासी गर्ने उद्देश्यले लग्दै गर्दा प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको थियो। निगमले उक्त पेट्रोलपम्प सिल गरी कारबाही प्रकृया अगाडि बढाईसकेको जनाएको छ।
भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो पर्ने भएका कारण नेपालबाट तस्करी हुने गरेको छ। त्यस्तै, खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले पेट्रोलियम पदार्थ खरिद गरी अवैध रुपमा भारत निकासी गर्ने गरेका छन्।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार भारतमा हरेक दिन मूल्य समायोजन हुन्छ भने नेपालमा एक महिनामा २ पटक मात्र मूल्य समायोजन हुन्छ। जरकारण भारतमा मूल्य बढ्दा पनि नेपालमा त्यसको असर १५ दिनपछि मात्रै देखिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।