काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला डाकेकै दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
फागुन ५ (बुधबार)का लागि पार्टीका जिल्ला सभापति, पूर्व सभापति र काठमाडौंमा उपलब्ध महासमितिका सदस्यहरुलाई केन्द्रीय कार्यालयमा बैठकका लागि बोलाइएको छ। वरिष्ठ नेता पौडेल पक्षले आफूपक्षीय जिल्ला सभापतिहरूको बैठक डाकेकै दिन पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
फागुन ७ देखि तोकिएको पूर्व निर्धारित कार्यतालिका अनुसार १४औं महाधिवेशन समयमा हुन नसकेपछि नयाँ रणनीतिका लागि पौडेल पक्षले बैठक बोलाएको छ। पौडेल निकट केन्द्रीय समिति सदस्य नवीन्द्रराज जोशीले जिल्ला सभापतिहरूको भेला डाकिएको जानकारी दिए।
‘घोषित समयमा १४औं महाधिवेशन हुन सकेन। महाधिवेशन गर्न मूल नेतृत्वले चासो देखाएन,’ नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘पार्टी विधानले दिएको समयावधि पनि सकिएको छ। नयाँ मितिको घोषणा नभएकाले छलफल गर्न बैठक बोलाएको भनिएको छ।’
माघ मसान्तसम्म क्रियाशील सदस्यता वितरण/नवीकरणको लागि अन्तिमपटक समयावधि छुट्याइए पनि कार्यतालिका अनुसार कार्य भएको छैन। संगठन समायोजनको कार्य तीन जिल्लामा टुंगिन बाँकी छ।
देउवा नेतृत्वको कार्यसमितिको थपिएको एक वर्षको कार्यकाल फागुन २३ मा सकिँदैछ। दलसम्बन्धी ऐनले दिएको व्यवस्था अनुसार ६ महिना थप्न अवधि छ। भदौभित्र महाधिवेशन गर्न नसके कांग्रेसलाई संवैधानिक संकट आउने छ।
महाधिवेशन समयमा हुन नसक्नुमा संस्थापनइतरले देउवा पक्षलाई दोषी देखाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।