काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पूर्ण कार्यान्वयन भएको दाबी गरेका छन्।
सरकारका तीन वर्षे उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘संविधान पूर्ण कार्यान्वयनमा आएको छ। संविधान सबैलाई स्विकार्य पनि भएको छ।’
तीन वर्षे कार्यकालमा ८९ वटा नयाँ कानुन निर्माण भएको उनले सुनाए। दर्जनौं विधेयक संसदमा प्रस्तुत गरेको प्रधानमन्त्रीले सुनाए।
प्रधानमन्त्री ओलीले आफू ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध र निर्विवादित नेता भएकाले प्रतिनिधि सभा विघटन सही रहेको समेत दाबी गरेका छन्। आफूलाई संसदीय दलका सदस्यले नभइ एक व्यक्तिले हटाउन खोजेको उनको भनाइ छ।
उनले भने, 'प्रतिनिधि सभा विघटनअघि मैले सोचें, विद्यमान अवस्थामा वैकल्पिक सरकार बन्छ कि बन्दैन। म ६४ प्रतिशतको निर्विरोध र निर्वादित नेता हुँ। मेरा विरुद्ध संसदीय दलमा आलोचना र टिप्पणी विपरित चर्चा छैन।'
उनले आफ्नाविरुद्ध केही व्यक्तिको गाइँगुइँ सुनिएको तथा एकजना व्यक्तिले झुठो लान्छना पत्र मात्रै दर्ज गरेको जिकीर गरे। उनको दाबी छ, 'संसदीय दलमा कुनै गुनासो छैन। त्यता समस्या भयो भनेर कुनै माग भएको छैन। उपनेताकहाँ गुनासो आएन। मुख्य सचेतक र सचेतक कहाँ पनि त्यस्तो केही आएन। दलमा मात्रै होइन, पार्टीभित्र पनि संसदीय दलको नेता बदल्ने कुनै कुरा उठेको छैन। उठेको भए पनि सम्भव थिएन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।