काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव विरुद्ध दर्ता भएको योग्यता सम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतले ६ वर्षपछि खारेज हुने फैसला सुनाएको छ।
न्यायाधीशद्वय केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सोमबार खारेज गरेको हो।
२०६९ चैत ७ गते तत्कालीन प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ र यादवको योग्यतालाई चुनौती दिँदै अधिवक्ता प्रविणकुमार लाभ र हरेराम साहले रिट दर्ता गराएका थिए। अन्तरिम संविधानको धारा १२८ को उपधारा ३ र ४ विपरीत कार्यकाल समाप्त भएका व्यक्तिलाई पुन: सिफारिस गरेको भन्दै रिट दर्ता गरिएको थियो।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले २०७० बैसाख ३ गते कारण देखाऊ आदेश जारी गरेको थियो। पहिलो सुनवाई भएको ५ वर्षपछि सर्वोच्चले यो मुद्दामा फैसला सुनाएको हो। रिटमा विपक्षी बनाइएका यादव बाहेक अन्य आयुक्तहरुले अवकाश पाएर उक्त पदमा अन्य व्यक्तिको नियुक्त समेत भई तीन वटा निर्वाचन सम्पन्न गरेपछि सर्वोच्चले मुद्दा खारेज हुने फैसला सुनाएको हो।
उक्त मुद्दाको १४ पटक सुनुवाइ स्थगित भएको थियो भने २५ जना न्यायाधीशको इजलासमा पेसी तोकिँदै सुनुवाइ सर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।