बुटवल– पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र ११ घन्टापछि एकतर्फी रुपमा खुलेको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात अवरुद्ध भएको थियो।
अवरुद्ध सडक खुलाउन बिहान ७ बजेबाट दुई वटा डोजर र एउटा क्रेन प्रयोग भएका थिए। पहिरो पन्छाउने क्रममा माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुल्न ढिलाई भएको थियो। पहिरो खस्न रोकिएपछि दिउँसो एक बजेबाट एकतर्फी रुपमा सडक खुलेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुईतर्फी रुपमा यातायात सञ्चालन हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्लामा जाने र विभिन्न जिल्लाबाट बुटवल, काठमाडौं जाने सयौं सवारीसाधनको लामो लाइन लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।