धनगढी- कैलालीमा गएराति चलेको भीषण हावाहुरीका कारण एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए।
सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको राँगो मरेको छ। झन्डै आधा घन्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ।
त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ। अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ।
ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।