काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भाजपाका सांसदले गरेको टिप्पणीप्रति नेकपा एमालेले तीव्र निन्दा गरेको छ।
एमालेले एक विज्ञप्ति जारी गर्दै भारतको लोकसभाका सांसद कीर्ति आजादले गत बिहीबार जनकपुर भारतमै फर्काउनुपर्ने भन्दै गरेको ट्विटप्रति आपत्ति प्रकट गरेको हो। यसबाट नेपालको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डतामाथि प्रहार गरिएको भन्दै एमालेले भर्त्सना गरेको हो।
भारतीय जनता पार्टी (भाजपा)का सांसद आजादले दुई सय वर्षअघि अंग्रेज र नेपालबीचको सन्धिमा मिथिलाको भाग नेपाललाई दिइएको भन्दै सो भूमि फिर्ता लिन ट्विटमार्फत प्रधानमन्त्री मोदीलाई आग्रह गरेका थिए।
नेपाल र भारतबीच विगतका तीता भुल्दै आपसी सम्मान र समानताका आधारमा सम्बन्ध सुमधुर बनाउने प्रयास भइरहेका बेला भारतीय सत्तारुढ दल भाजपाकै सांसदबाट आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्याउने यस्ता अभिव्यक्ति आगामी दिनमा प्रकट नहुने व्यवस्था मिलाउन एमालेले सरकारको ध्यानाकर्षण समेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।