पोखरा– प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेका दुई वटा विधेयकलाई प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुख कुँवरले ‘प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को सार्वजनिक सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘स्थानीय तहको सभा सञ्चालन सम्बन्धी (कार्यविधि) विधेयक’ आज प्रमाणीकरण गरेका हुन्।
अघिल्लो विधेयक प्रदेशसभाको बैसाख २३ बसेको ३५औं बैठकले पारित गरेको थियो भने ‘स्थानीय तहको सभा सञ्चालन सम्बन्धी विधेयक’ बैसाख २४ मा बसेको ३६औं बैठकले पारित गरेको थियो।
पारित गरिएका दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए। प्रमाणित गरिएका दुवै विधेयकलाई प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।
प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै विधेयकले ऐनको रुप लिएर प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्न प्रदेश सरकारलाई बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।