काठमाडौं– राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठक सम्पन्न भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको बैठकमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौदामाथि बृहत् छलफल भएको थियो।
बैठकले परिषदका सदस्यहरुबाट प्राप्त सुझावलाई समेटेर मस्यौदालाई थप परिस्कृत गरी सम्बन्धित सबै सरोकारवालाको राय–सुझावका लागि सार्वजनिक गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ।
बैठकलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले नेपालको संविधानको मर्म, संघीय शासन व्यवस्था अनुसार पाठ्यक्रमको विकास र परिमार्जन गर्न आवश्यक रहेको बताए। प्रारुप विद्यालय शिक्षाको प्रमुख नीति निर्देशक दस्तावेज भएकाले विभिन्न क्षेत्रका विज्ञ एवं सम्बद्ध पक्षको व्यापक सहभागिता गरी सबैबाट प्राप्त सुझाव समेतका आधारमा स्वीकृतिको प्रक्रियामा लैजानुपर्नेमा उनले जोड दिए।
मन्त्री पोखरेलले गुणस्तरीय शिक्षामा सम्झौता गर्न नसकिने भन्दै शैक्षिक गुणस्तर वृद्धि गर्न पाठ्यक्रम महत्वपूर्ण विषय भएको बताए।
‘अबको शिक्षा विज्ञानमैत्री हुनुपर्छ’, मन्त्री पोखरेलले भने, ‘पाठ्यक्रम प्रारुपमा यस्ता विषय पनि समेट्नु आवश्यक छ।’
यस्तै, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले संवैधानिक व्यवस्था र मुलुकको संघीय संरचना अनुसार बिद्यालयस्तरीय पाठ्यक्रम सम्बद्ध गतिविधिलाई व्यवस्थित गर्न यो प्रारुप ल्याइएको जानकारी दिए।
अहिले छलफलमा ल्याइएको प्रारुपको मस्यौदामा बालबालिकाको सिकाइलाई खण्डीकृत हुन नदिई अन्तरसम्बन्धित कक्षा १ देखि कक्षा ३ सम्म विषय क्षेत्रमा आधारित एकीकृत पाठ्यक्रम विकास गर्ने उल्लेख गरिएको छ भने संघीय संरचनामा संघ, प्रदेश र स्थानीय सरकारको पाठ्यक्रम सम्बद्ध भूमिकालाई परिभाषित गरिएको छ।
यस्तै, पाठ्यक्रम प्रारुपमा माध्यमिक तह कक्षा ९ देखि कक्षा १२ सम्मका लागि एकल पथीय ढाँचाको पाठ्यक्रम विकास गरिएको छ भने माध्यमिक तहको साधारण शिक्षामा समेत रोजगार एवं स्वरोजगारमूलक प्राविधिक÷व्यावसायिक विषयलाई पाठ्यक्रम ढाँचामा समावेश गरिएको छ।
त्यसैगरी, माध्यमिक तह कक्षा ११ र १२ को पाठ्यक्रममा लघु अध्ययन/अनुसन्धान, व्यावहारिक अभ्यास जस्ता क्रियाकलापलाई पनि नयाँ प्रारुपमा समेटेर पाठ्यक्रम अनुसन्धानमूलक बनाइएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।