खोटाङ– सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ। बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा बैसाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो।
नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव चार किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए। बेपत्तामध्ये ११ वर्षीया अनिता माझी र १० वर्षीय सविन माझीको अवस्थाका बारेमा पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
विद्यालय छुट्टीको दिन सुनकोशी किनारको जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्मी भएपछि पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन्। बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।