अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन्। उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन्।
नेकपा अर्घाखाँचीले सन्धिखर्कमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा सङ्घीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पारे।
'राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अङ्गहरुसमेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो,' उनले भने।
पूर्वप्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरुलाई निर्वाचनमा जान डराएको आरोप उनको छ। निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डाराएर देखिएको उनको आरोप छ।
यस्तै ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले लोकतन्त्र र सङ्घीयता बचाउन संसद् विघटनको विकल्प नभएको बताएका छन्। प्राप्त उपलब्धिको रक्षा गर्न सबैभन्दा उत्कृष्ट बाटो नै प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति तय गरिएको समेत बताए।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष नभई नहुने भएपछि पार्टी विभाजनको अवस्थामा पुगेको उल्लेख गरे।
'कुनै सिद्धान्त र नीतिभन्दा पनि पद र कुर्चीका लागि पार्टी विभाजनको अवस्थामा पुर्याएका छन्,' उनले भने।
कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री तथा नेकपाका नेता मणि थापा, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालगायतले निर्वाचनमा लाग्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।