काठमाडौं- जनता समाजवादी पार्टीका नेता केशव झाले सर्वोच्च अदालतमाथि लोकतन्त्र जोगाउने कार्यभार रहेको बताएका छन्। शनिबार तौलिहवामा आयोजित पार्टीको विरोध सभामा सम्बोधन गर्दै झाले संसद् पुनःस्थापना हुने विश्वास व्यस्त गरे।
‘सर्वोच्च अदालत नै अहिले हाम्रो एक मात्र आशा र भरोसाको केन्द्र हो। उसैमाथि लोकतन्त्र जोगाउने कार्यभार आएको छ’, झाले भने, ‘उसले संविधानको मर्म अनुरुप नै संसद पुनःस्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास छ।‘
उनले प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर भएको बताउँदै त्यसलाई आफूहरुले कुनै हालतमा स्वीकार गर्न नसक्ने बताए। उनले सरकारले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा र थप त्यस्ता गलत कदम नउठाउन खबरदारी गर्दै आफूहरुले संघर्ष गरिरहेको बताए। ‘कोरोना महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा हो’, उनले भने।
झाले मुलुकमा बढेको भ्रष्टाचार, कालोबजारी, महंगी, कुशासनको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताए।
प्रतिनिधि सभा विघटन भएपछि जसपाले दोस्रो चरणको विरोध कार्यक्रम स्वरुप शनिबार देशका ६ स्थान धरान, सिरहा, मलंगवा, रौतहट, कलैया र तौलिहवामा विरोध कार्यक्रम आयोजना गरेको हो। यसअघि पुस २५, २७ र २९ गते देशका ९ स्थानमा सभाहरु आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।