काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरेका छन्।
चितवनको भरतपुर महानगरपालिकाद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकैपटक प्रहार भएको बताउँदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरे।
‘म चितवनको यो सहिदभूमिबाट न्यायमुर्तिहरूप्रति सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु,’ उनले भने।
उनले प्रतिनिधि सभाको विघटन लोकतन्त्रमाथि, संविधानमाथि राष्ट्रमाथि एकै पटक प्रहार गरेको बताए। वरिष्ठ नेता पौडेलले संविधनामा धारा ७६ (५) को प्रधानमन्त्रीले बाहेक प्रतिनिधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आम नागरिकले शंका गरिरहेको समेत बताए।
पौडेलले नेपाली कांग्रेस चुनावमा नजाने भन्ने हुँदै नभएको बताउँदै चुनावभन्दा ठूलो संविधान र लोकतन्त्र हुने स्पष्ट पारे। पौडेलले भने–‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ। खेतै नभएपछि कसरी धान रोप्ने त्यसैले अहिले संविधान जोगाऊ लोकतन्त्र जोगाऔं। लोकतन्त्र र संविधान जोगियो भने त चुनवामा त जहिले पनि सहभागी हुन पाइन्छ नि।’
वरिष्ठ नेता पौडेलले चुनाव गराउनका लागि प्रतिनीधिसभा भंग नगरेको बताउँदै मुलुकलाई संकट तर्फ धकेल्नका लागि भएको प्रतिनीधिसभा भंग भएको बताए। उनले चुनाव पनि नहुने प्रतिनिधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ भनि प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।