बुटवल– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारले नागरिक अभिनन्दन गरेको भन्दै विरोध जनाउने नेपाल राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका नेतालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
पार्टीले कालो झन्डा प्रदर्शन गर्दै बुटवलमा शुक्रबार दिउँसो गरेको विरोध कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका हुन्। बुटवल पुष्पलाल पार्कमा आयोजना गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदेश पाँच इञ्चार्ज डाक्टर हाजि मोहम्मद खाँ र पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ लगायतलाई पक्राउ गरिएको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ।
मोदीको अभिनन्दन, भारतीय ज्यादती र हस्तक्षेप, कालोबजारी, महँगी र भ्रष्टाचारको विरुद्धमा खबरदारी तथा विरोध गर्न आयोजना गरेको कार्यक्रममा प्रहरीले धरपकड गरेको सो पार्टीका जिल्ला समिति रुपन्देहीका अध्यक्ष गुरुङले जानकारी दिए।
सो पार्टीले मोदी नेपाल भ्रमणमा आउनु स्वाभाविक भए पनि उनलाई गरिएको अभिनन्दनको भने विरोध गर्दै आएको छ। नेपाललाई नाकाबन्दी लगाउने व्यक्तिलाई अभिनन्दन गर्नु ओली सरकारको नालायकीपन भएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीका महासचिव केशव सूर्यवंशीले जारी गरेको विज्ञप्तिमा सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेको उल्लेख गरेका छन्।
गिरफ्तार गरिएका नेता तथा कार्यकर्तालाई निःशर्त रिहाइ गर्न समेत विज्ञप्तिमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।