कैलाली- प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक जागरणका लागि शुक्रबारदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन सुरु भएको छ।
धार्मिक पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक जागरण अभियानमा नेपाल र भारतका दुई सयभन्दा बढी संस्कृतिकर्मी, साहित्यकार, सञ्चारकर्मी लगायतको सहभागिता छ।
प्रदेश ७ को उद्योग मन्त्रालय र नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा सुरु भएको काव्य सम्मेलनमा सहभागी टोलीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहबीच बिदाइ गरे।
गोदावरी धार्मिक स्थलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले यो सम्मेलनले प्रदेशको धार्मिक सांस्कृतिक पर्यटन विकासमा टेवा पुग्ने बताए।
यस्तै, उद्योगमन्त्री माया भट्टले पदयात्रा तथा काव्य सम्मेलनले नेपाल र भारतबीच धार्मिक सहष्णिुता राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिन्।
खप्तड पदयात्राका क्रममा कैलालीको गोदावरीधाम, डडेल्धुराको परशुराम धाम, चुरे पहाडको मध्यभागमा रहेको आलीताल र बेतकोट ताल, अमरगढी किल्ला, डडेल्धुरास्थित घटालबाबा थान, उग्रतारा मन्दिर जस्ता प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको अवलोकन गर्न कार्यक्रम छ।
त्यस्तै, डोटी र डडेल्धुराको सीमानामा पर्ने सेती नदी किनारामा रहेको गगनान क्षेत्र, डोटीमा रहेको शालमुनि भागेश्वर, दिपायल कोट र शैलेश्वरी मन्दिर, अछामको वैद्यनाथ धाम, खप्तड बडिमालिका तथा त्रिवेणी लगायतका प्रसिद्ध धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गन्तव्यहरूलाई पदयात्राका क्रममा समेटिएको छ।
पदयात्राका संयोजक पदमराज जोशीले प्रदेश ७ का महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने लक्ष्यसहित खप्तड पदयात्रा आयोजना गरिएको बताए।
सम्मेलन जेठ २ गते सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।