जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने त्यो मेरो सधैं आँखामा लुकेछ
स्वरसम्राट नारायण गोपालको आवाजमा बजिरहने यो गीत नसुन्ने सायदै होलान्। नयाँ पुस्ताले समेत निकै रुचाउने यी र यस्ता दर्जनौं गीतका रचनाकार भैरवनाथ रिमाल कदमको शनिबार निधन भयो।
उनी पछिल्लो आठ महिनादेखि बिर्सने रोग (अल्जाइमर)ले थलिएका थिए। आफ्नै परिवारका सदस्यले समेत उनको नजिक जाँदा चिनाउनुपर्थ्यो।
१९९३ माघ ३ गते काठमाडौंको ठमेलमा जन्मिएका कदम लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेलसँगै साहित्य लेखनको यात्रामा होमिएका थिए।
लेखनाथले नै आफूलाई आधुनिक गीत लेख्न सिकाएको बताउने कदम त्यो बेलाका कुरालाई निकै सरस तरिकाले ब्याख्या गर्थे। गोठालो जाँदा लेखनाथसँग भेट हुने र चुरोटका बट्टामा साना अक्षरले लेखेर उनलाई देखाउने कुरा आजका पुस्तालाई सुनाउँदा उनको अनुहार उज्यालो हुन्थ्यो।
लक्ष्मीप्रसाद देवकोटा कदमका नातेदार थिए, सानोबुबा। आफ्ना बाबुले सौतेनी आमा ल्याएपछि पाएको दुःख खेप्न नसकेर आमासहित उनी उनै सानोबुबाको घरमा बस्न गएका थिए।
त्यसो त, उनलाई सानो बेलामा लेखनकार्यमा रूची थिएन। कदम आमाले गाएको भजनमा गला मिलाउन भने रुचाउँथे। उनकै भाषालाई सापटी लिने हो भने, त्यही भजनले उनलाई उकास्दै लग्यो।
उनले आमाको भजनलाई बिस्तारै आफैँ मिलाउँदै नयाँ स्वरुपमा ढाल्ने गर्न थाले। अहिलेजस्तो रेकर्ड गर्ने जमाना त्यतिखेर नभएकाले उनी सिधै कविमण्डलमा गएर आफैँले स्वरुप दिएको भजन गाउँथे।
बिस्तारै साहित्यका पारखिसँग उनको संगत बाक्लो बन्दै गयो। १० बर्षदेखि उनका हातले अर्मुत रचना गर्न सुरु गरिसकेको थियो।
त्यही यात्राले उनलाई गीतकारसम्म पुर्यायो। उनको गीत र भजनलाई नारायण गोपालदेखि अरुणा लामासम्मले गाएका छन्।
के भो यस्तो मलाई लौन बुझिदेउ
मनको आशा पुर्याउने फूल फुलाइदेउ
व्यथा लुक्छ शून्यभित्र हेर्दा देखिँदैन
मुखमा ल्याई भन्न खोज्दा भन्न सकिँदैन
जिन्दगीको पानाभरी सुख भेटिँदैन
फत्तेमानको स्वरमा सजिएको यो गीतले कदमको सम्पूर्ण जिन्दगीलाई समेट्ने उनको भनाइ थियो। सानैमा निकै आघात परेको बताउने उनले कहिल्यै सुखको अनुभूति गर्न पाएनन्।
भैचम्पा नामको किताबबाट सुरु भएको उनको लेखन यात्रामा आजको दिनसम्म आइपुग्दा २६ ओटा कृति प्रकाशित भइसकेका छन्।
जागिर खाएर परिवार पाल्नु, गीत लेख्नु र सँगै किताब प्रकाशन गर्नु सजिलो थिएन। साहित्यमै लागेको भए अझै निकै माथि पुग्नसक्ने उनको मनमा लागिरहन्थ्यो।
उनले छन्नलता गीत पुरस्कारलगायत अन्य राष्ट्रिय पुरस्कार र सम्मान पनि पाएका छन्। जति नै सम्मान र पुरस्कार पाएपनि आफूले गर्न सक्नेजति गर्न नपाएको गुनासो बोकेर उनी सदाका लागि अस्ताएका छन्।
लामो समयदेखि कान सुन्न छाडेका उनलाई उपचारका लागि चिरायु अस्पताल राखिएको थियो। अस्पतालबाट घर पुगेको ४ दिनको दिन उनले शनिबार दिउँसो साँढे २ बजेतिर उनले यो संसार छाडे।
कदमको पार्थिव शरीरलाई हिजो नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। उनको आत्माले शान्ती पाओस्, हार्दिक श्रद्धान्जली।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।