बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको न्यायिक समितिले हालसम्म २९ वटा मुद्दाको छिनोफानो गरेको छ।
न्यायिक समितिमा आएका ५५ उजुरीमध्ये शुक्रबारसम्म २९ वटा विवादको निरुपण गरिएको नगर उप–प्रमुख एवं समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिइन्।
संविधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उप–प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ। न्यायिक समितिमा दर्ता भएका विवादमध्ये दुवै पक्षलाई छलफल गराएर ९ वटा माथिल्लो निकायमा र ७ वटालाई सम्बन्धित वडा कार्यालयमा पठाइएको समितिको सचिवालयले जनाएको छ।
यस्तै, ९ वटा मुद्दा छलफलको क्रममा रहेको र एउटा मुद्दा फिर्ता भएको समिति संयोजक चौधरीले जानकारी दिइन्। समितिमा दिनप्रतिदिन मुद्दाको चाप बढ्दै गएको छ।
‘स्थानीय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतालाई विश्वास छ, त्यसैले पनि मुद्दाको चाप बढ्दै गएको छ’, उप–प्रमुख चौधरीले भनिन्। सानातिना विषयका मुद्दा लिएर अदालतमा जाँदा धेरै पैसा खर्च हुने भएकाले पनि न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको हो।
न्यायिक समितिमा खासगरी जग्गाको साँध–सँधियार, अंशबन्डा, घरेलु हिंसा, सम्बन्धविच्छेद, लेनदेन, ठगी, कुटपिट लगायतका मुद्दा बढी आउने गरेका छन्। समितिमा दर्ता भएका उजुरी उपर दुवै पक्षलाई बोलाई छलफल गरी सकेसम्म मेलमिलाप गर्न प्रोत्साहन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइने उप–प्रमुख चौधरीले बताइन्।
न्यायिक समितिलाई आफ्नो क्षेत्राधिकारमा पर्ने विवादको कारबाही र किनारा कानुन बमोजिम र क्षेत्राधिकार बाहेकका मुद्दालाई मेलमिलापको माध्यमबाट मात्र निरुपण गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।