काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा विवेकशील साझा पार्टीले राखेको ब्यानर प्रहरीले हटाउनु अधिनायकवाद र निन्दनीय कार्य भएको राजनीतिक दलका नेताहरुले टिप्पणी गरेका छन्।
नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विधिवत् दर्ता भएको कुनै राजनीतिक दलले देशको संविधान र कानुन विपरीत नहुने अभिव्यक्ति बोलेर, लेखेर, तुल टाँगेर वा अन्य कुनै प्रकारले गर्दा त्यसलाई राज्यले बल प्रयोग गरेर रोक्नु अधिनायकवाद भएको टिप्पणी गरे। उनले ट्विटरमा यस्तो कार्य कसैप्रति चाकडी प्रदर्शनको भद्दा नमुना भएकाले त्यसको प्रतिवाद गर्न सबैलाई आग्रह गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले पनि विवेकशील साझाको कार्यालय पुगेर प्रहरीले गरेको हस्तक्षेपको विरोध गरेका छन्।
नेता थापाले संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेकाले प्रहरीको कार्य निन्दनीय भएको उल्लेख गरेका छन्। त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सिर्जनात्मक विरोध पनि सहन नसक्नु असंवैधानिक र निन्दनीय कृत्य भएको थापाले ट्विटरमा लेखेका छन्।
विवेकशील साझाले ललितपुरस्थित पार्टी कार्यालयमा 'मोदीजी स्वागत छ,तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको ब्यानर प्रहरीले च्यातेको थियो। ब्यानर च्याते लगत्तै पुन: अर्को राखेकोमा प्रहरीले त्यसलाई पनि हटाएको थियो।
विवेकशील साझाले शान्तिपूर्ण विरोधमाथि हस्तक्षेप गरेको भन्दै निन्दा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।