थाहा छ,
पस्किँदा पर्ने प्लेटमा हो
जुठोपुरो झर्ने प्लेटमा हो
तैपनि झ्याम्मिन आतुरी गर्छौं
क्या गजबको चुरिफुरी गर्छौं
हामी चम्चाहरू।
थाहा छ,
चिया, कफी भर्ने कपमा हो
चिनी-सिनी छर्ने कपमा हो
तैपनि छेउछाउ रजाइँ गर्छौं
कस्तो मजाको टाइँफाइँ गर्छौं
हामी चम्चाहरू।
थाहा छ,
घिउ पोखिने दालमा हो
दाल पोखिने थालमा हो
तैपनि नरित्तिउन्जेल आश गर्छौं
मनचिन्ते बकवास गर्छौं
हामी चम्चाहरू
हामीलाई
प्लेटको गोलाइसँग पनि मतलब छैन
चियाको पोलाइसँग पनि मतलब छैन
दालको नुनिलोपनासँग पनि मतलब छैन
थालको चम्किलोपनासँग पनि मतलब छैन
एकैछिन राख्न दिए पनि ठिकै
अलिकति चाख्न दिए पनि ठिकै
फड्कार्न जिब्रो छैन, चपाउन दात पनि छैन
हर्ष पनि छैन हामीलाई, विस्मात पनि छैन
तैपनि भान्सातिरै जम्जमाउँछौँ
आत्मरतिमा बेस्मारी रमाउँछौँ
हामी चम्चाहरू
हामीलाई
नचिनेकाले चिन्नु भए हुन्छ
आवश्यक परे किन्नु भए हुन्छ
तपाईंकै फिक्रीमा हुन्छौँ हामीहरू
बजारमा बिक्रीमा हुन्छौँ हामीहरू
तपाईंको भाग न सोस्छौँ हामी न निल्छौं
थालसँग नि मिल्छौँ, कचौरासँग नि मिल्छौं
चिनजान कसैसँग छैन, तर सबैलाई चिन्छौं
हात किन हाल्नुहुन्छ जुठोमा, हामी घुसिदिन्छौं
थाह छ नि छन त
छुँदै नछुँदा नि चल्छ
हामी नहुँदा नि चल्छ
तपाईंको जिन्दगी
तैपनि हामी हाजिर छौं
राजनीतिमा माहिर छौं
हामी चम्चाहरू।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।