काठमाडौं- न्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई संवैधानिक इजलासबाट अलग गराएकाे घाेषणाा गरेका छन्। सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा न्यायाधीश कार्कीमाथि प्रश्न उठेपछि आफूलाई संवैधानिक इजलासबाट अलग गराएको कार्कीले घोषणा गरेका हुन्।
प्रधानन्यायाधिशसहित ५ न्यायाधीशको संवैधानिक इजलासमा कार्कीप्रति अधिवक्ता दिनेश त्रिपाठीले महान्याधिवक्ता भएको व्यक्ति इजलासमा बसेको भन्दै आपत्ति जनाएका थिए।
‘मलाई बहस गर्न र निर्णय सुन्न आपत्ति छैन। तपाईंकाे क्षमतामाथि पनि प्रश्न छैन। पाँच जनाले मात्र निर्णय गर्नुभन्दा पूर्ण इजलासमा लैजाऔँ‚’ संवैधानिक इजलासको बहसमा बोल्दै त्रिपाठीले भनेका थिए‚ ‘हामीले देखेकाे कुरा यही हाे। हिजाे महान्यायाधीवक्ता भएकाे मानिस इजलासमा बस्नुभएकाे छ। हिजाे केपी ओलीकाे महान्यायाधिवक्ता हुँदै हरिकृष्ण कार्की न्यायाधीश हुनुभएकाे हो।’
कार्कीको विषयमा अन्यत्र पनि विभिन्न प्रश्न उठेको भन्दै त्रिपाठीले भारतमा समेत यस्तै विषयमा लामो बहस भएको उल्लेख गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले यो विषय आफूमाथि समेत लागू भएको भन्दै त्रिपाठीको प्रश्नमाथि प्रश्न थपेका थिए। जवाफमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्याधीश अनिवार्य रूपमा यस विषयमा संलग्न हुने व्यवस्था संविधानले गरेको भन्दै उनको विकल्प नभएको बताए।
कार्की तत्कालीन नेकपा एमालेका तर्फबाट नेपाल बारकाे अध्यक्ष भएका थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा महान्यायाधिवक्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।