एजेन्सी- सन् २००९ मा रिलिज भएको हलिउडको थ्रिडी फिल्म 'अवतार' ले छुट्टै दुनियाँको कथा भनेको थियो । निर्देशक जेम्स क्यामरुनले अलग दुनियाँसँगै अलग भाव-भंगिमा र छुट्टै भाषा बोल्ने मानिसको संवेदना प्रस्तुत गरेका थिए।
फिल्मले संसारभरि २ अर्ब ८० करोड डलर कमाउँदै कीर्तिमानी व्यापार गरेको थियो । यसपछि यो फिल्मको सिक्वल बन्ने खबर व्यापक भएको थियो । 'अवतार' बनेको आठ वर्षपछि सिक्वलको काम सुरु भएको छ । सुटिङ धमाधम हुन थालेको छ।
थ्रिडीमै आउने यो फिल्मको बजेट एक अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । रोचक कुरा के छ भने निर्देशक क्यामरुनले 'अवतार'को चार भाग एकसाथ सुट गर्नेछन् । यसअघि पिटर ज्याक्सनले 'लर्ड अफ द रिंग्स'को तीन पार्ट सुटिङ एकसाथ गरेका थिए।
जेम्स क्यामरुन भव्य फिल्म निर्माणका लागि परिचित छन् । उनले अवतार अगाडि 'टर्मिनेटर २' र 'टाइटानिक' फिल्म बनाइसकेका छन्।
'अवतार'को सिक्वलहरुको सुटिङ हुँदै गर्दा फिल्मको दोस्रो भाग रिलिज हुने मिति समेत तय भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका लागि फिल्म २०२० डिसेम्बर २० मा रिलिज हुनेछ । यसपछिको भाग त्यसको अर्को वर्ष आउने र बाँकी दुई भाग २०२४ र २०१५ मा आउने बताइएको छ । फिल्म पहिलेभन्दा भव्य हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।