पोखरा- आइएमई नेपाल लिटरेचर फेस्टिभल मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरेका छन्। फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, वातावरणविद् डा. अरनिको पाण्डे र शिलशिला आचार्यसँग पत्रकार रमेश भुसालले संवाद गरेका हुन्।
दोस्रो सत्र ‘प्रदेशबाट देखिने देश’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार बसन्त बस्नेतले अन्तर्संवाद गरे। यो सत्रमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम एवम् परिदृश्यबारे गरमागरम बहस भएको थियो।
अर्काे सत्र ‘कोरोनाकालीन उद्योग वाणिज्य’ मा पत्रकार कुवेर चालिसेले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग छलफल चलाए। यो सत्रमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमका विषयमा चर्चापरिचर्चा भयो। साथै निजीक्षेत्रले कोभिड–१९ कै बीचमा गरिरहेका सकारात्मक प्रभावबारे पनि उनीहरुले संवाद गरेका थिए।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दाससँग पत्रकार दीपक परियारले ‘संघीयताका अवसरहरु’ सत्रमा छलफल चलाए। यसका वक्ताहरुले देशमा संघीयता आए पनि त्यो प्रदेशहरुमा प्रभावकारी कार्यान्वयन नभएको बताए।
फेस्टिभलको अर्को सत्र थियो, ‘क्वेर हुनुको अर्थ’। यो सत्रमा अनुवादक तथा लेखक निरञ्जन कुँवर र ब्लु डायमन्ड सोसाइटीका संस्थापक भिक्षु कश्यप (सुनीलबाबु पन्त) बीच संवाद भयो। यो सत्रमा उनीहरुले समाजमा क्वेर भएर जीवनयापन गर्नुका दुःखबारे छलफल गरे।
‘युवाको नजरमा नेपाल’ सत्रमा अभियन्ता प्रकृति भट्टराई बस्नेत, चिकित्सक डा भावना तामाङ र दृष्टिविहीन युवा अभियन्ता सौगात वाग्लेसँग लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले संवाद गरे। उनीहरुले अहिलेका युवाहरुले चाहेको नेपाल र भइरहेको अवस्थाबारे चर्चा गरेका थिए। साथै देशमा विकासका लागि गर्नुपर्ने र अपनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो।
महोत्सवको अन्तिम सत्र थियो, ‘तीन आख्यान’। यो सत्रमा लेखक केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग शिवानीसिंह थारु प्रस्तुत भए। उनीहरुले नेपाली साहित्यमा आख्यानको अवस्था आदिबारे छलफल गरे। साथै पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा पनि उनीहरुबीच संवाद चल्यो।
फेस्टिभलको नवौं संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता थिए। भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति थिएन। फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भएको थियो। साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिने व्यवस्था मिलाईएको थियो। नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन्।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाबाट सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजक बुकवर्म फाउन्डेसनको ठम्याइ छ। फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पुर्याएको समेत आयोजकको भनाइ छ।
साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको विश्वास फाउन्डेसनको छ। गैरनाफामूलक संस्था बुकवर्म फाउन्डेसनले आयोजना गर्दै आएको फेस्टिभल साहित्य र समाजबीच खुला बहस गर्न, पठन संस्कृतिमा वृद्धि गर्न र आलोचनात्मक चेतलाई अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ। दुई वर्षयता फेस्टिभललाई आइएमई ग्रुपले प्रायोजन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।